
भोजपुर जिल्लामा लोपोन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) को संरक्षण अभियान तीव्र रूपमा अघि बढाइएको छ। रेड पान्डा पाइने चारवटा सामुदायिक वन क्षेत्रमा ४८ वटा निगरानी क्यामेरा जडान गरी यसको बसोबास र गतिविधिबारे जानकारी संकलन सुरु गरिएको छ।
रेड पान्डा नेटवर्कको सहकार्यमा टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा ८ हजार मालिङ्गो (बाँस प्रजाति) का बिरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार रेड पान्डाको मुख्य आहार मालिङ्गो भएकाले त्यसको संरक्षणमा प्राथमिकता दिइएको हो।
उक्त क्षेत्रमा तीनवटा ठूला पोखरी निर्माण गरिएको छ, जसले वन्यजन्तुको दिगो आवास व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कुल १३ लाख ३० हजार रुपैयाँ बराबरको लागतमा पोखरी निर्माण, बिरुवा रोपाइँ र श्रमदानसमेत गरिएको अधिकारीले बताए।
संरक्षणका लागि तालिम र समुदाय परिचालन
सुरक्षालाई मध्यनजर गर्दै सातवटा स्थानीय समूहलाई संरक्षण कार्यका लागि तालिम दिइएको छ। साथसाथै, दुई जना वन अभिभावकसमेत नियुक्त गरी क्षेत्रको नियमित निरीक्षण तथा अद्यावधिकको काम भइरहेको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताए। “रेड पान्डा संरक्षणमा स्थानीयको सक्रियता बढ्दै गएको छ,” उनले भने।
धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा देखापरेको पुष्टि गरिएको छ। संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम भइरहेको र चोरी तथा सिकारीबाट जोगाउन सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
कानूनी व्यवस्था र पर्यटन सम्भावना
रेड पान्डाको चोरी वा सिकारी गरेमा रु १ लाखदेखि ५ लाखसम्म जरिवाना र १ देखि १० वर्षसम्मको कैद सजाय हुने राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ मा उल्लेख छ।
स्थानीय सरकार, सामुदायिक वन तथा विभिन्न संस्थासँगको सहकार्यमा संरक्षण कार्यक्रम अघि बढाइएको हो। मुन्दुम पदमार्गअन्तर्गत पर्ने क्षेत्रहरूमा रेड पान्डाको संरक्षणले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
गाउँपालिकाले रेड पान्डा पाइने क्षेत्रलाई “रेड पान्डा जोन” का रूपमा विकास गर्ने योजना अघि सारेको छ। उपाध्यक्ष रमादेवी राईले रेड पान्डालाई पर्यटनसँग जोडेर दिगो विकास गर्ने योजना बनाइएको बताइन्।