
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले कांग्रेसलाई नैतिकता सिकाउने प्रयासप्रति गम्भीर आपत्ति जनाएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै बस्नेतले भने, “एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको छ भने रास्वपाका सभापति अहिले जेलमा छन्। यस्तो अवस्थामा पनि उनीहरू संसदीय दल र पार्टीको नेतृत्वमा छन्। यस्तो अवस्थामा उनीहरूले कांग्रेसलाई नैतिकताको पाठ पढाउने?”
बस्नेतले नैतिकताको विषय उठाउँदै भने, “नैतिकता आफैँले पालना गरेपछि मात्र अरूलाई सिकाउनु पर्छ। देश चलाउन नैतिक चरित्र अनिवार्य हुन्छ।”
उनले थपे, “पहिले आफैँको चरित्र राम्रो बनाउनु पर्छ, त्यसपछि मात्रै अरूलाई नैतिकता सिकाउने कुरा गर्नु उपयुक्त हुन्छ।”
बस्नेतले स्पष्ट रूपमा प्रश्न गरे, “जेलमा रहेका सभापति, अख्तियारमा मुद्दा खेपिरहेका अध्यक्ष—यी नै संसदीय नेता र पार्टी प्रमुख रहने अनि कांग्रेसलाई नैतिकता सिकाउने? यस्तो कस्तो दोहोरो मापदण्ड?”
उनको यो टिप्पणीले राष्ट्रिय राजनीतिमा पुनः नैतिकताको विषय चर्चामा ल्याएको छ।