Join our Channel

पूर्वी नाकाबाट ५ महिनामै ४८ सय पर्यटक नेपाल प्रवेश, भुटानी पर्यटकको संख्या उच्च

पूर्वी नाकाबाट ५ महिनामै ४८ सय पर्यटक नेपाल प्रवेश, भुटानी पर्यटकको संख्या उच्च

पूर्वी नाका काँकरभिट्टाबाट सन् २०२५ को पहिलो ५ महिनामा (जनवरीदेखि मेसम्म) ४८ सय विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार यो संख्या भारतबाहेक अन्य ६३ मुलुकका नागरिकहरू हुन्।

कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार, दैनिक सरदर ३२ जना विदेशी पर्यटक स्थलमार्ग हुँदै नेपाल प्रवेश गरिरहेका छन्। सन् २०२४ मा भने यो नाकाबाट जम्मा ६,१०१ जना पर्यटक नेपाल आएका थिए। यस वर्षको आगमन अघिल्लो वर्षको तुलनामा करिब दोब्बरले वृद्धि भएको बताइएको छ।

उनका अनुसार, नेपाल प्रवेश गर्नेमध्ये ८० प्रतिशत भुटानी पर्यटक छन् भने १० प्रतिशत अमेरिकी नागरिक रहेका छन्। बाँकी पर्यटकहरू थाइल्यान्ड, बेलायत, अस्ट्रेलिया लगायतका देशहरूबाट आएका हुन्।

यसैगरी, भारततर्फ जाने पर्यटकको संख्या पनि झण्डै उस्तै रहेको छ। सन् २०२४ मा काँकरभिट्टा हुँदै ६,१९७ जना पर्यटक भारत गएका थिए।

स्थानीय प्रेस क्लब मेचीनगरद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख भट्टराईले नेपाल–भारत सीमाबाट हुने पर्यटक आवागमनमा उल्लेखनीय सुधार आएको जानकारी दिए।

Leave a comment