
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरेमा शुक्रबार बिहान करिब १० बजे ठूलो पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुका अनुसार माथिबाट खसेको पहिरोले सडक पुरिएपछि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको हो।
सडक अबरुद्ध हुँदा गुल्मी सदरमुकाम तम्घास, बागलुङ, पर्वत, पोखरा, बुटवललगायतका मुख्य गन्तव्यमा जाने तथा छोटो दुरीका स्थानीय सवारीसाधन चल्न नसकेर यात्रुहरू समस्यामा परेका छन्।
सडक खुलाउन डोजरसहितको टोली परिचालनको तयारी भइरहेको प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण थप जोखिम हुन सक्ने भएकाले यात्रुहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।