
इजरायलद्वारा गरिएको हवाई आक्रमणमा इरानको एक प्रमुख परमाणु अनुसन्धान केन्द्रमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) ले पुष्टि गरेको छ।
IAEA का अनुसार, खोन्डब हेभी वाटर रिसर्च सेन्टरका धेरै संरचना नष्ट भएका छन्। विशेषगरी, डिस्टिलेशन (पानीको विशुद्धिकरण) प्रक्रिया हुने युनिटको संरचना पूर्णरूपमा ध्वस्त भएको जानकारी दिइएको छ।
एजेन्सीले सो जानकारी सामाजिक सञ्जाल X (पूर्व Twitter) मार्फत सार्वजनिक गरेको हो।
यद्यपि, IAEA ले स्पष्ट पारेको छ कि इजरायली आक्रमण र उक्त संस्थाको रिपोर्टको बिच कुनै प्रत्यक्ष सम्बन्ध छैन। एजेन्सी प्रमुख राफेल ग्रसीले CNN सँगको अन्तर्वार्तामा भनेका छन्, “हाम्रो रिपोर्ट कुनै पनि देशको सैन्य कारबाहीको आधार बन्न सक्दैन।”
इरानले भने IAEA को रिपोर्ट र त्यसमा गरिएको टिप्पणीले इजरायललाई आक्रमण गर्न प्रेरणा दिएको आरोप लगाएको छ। तर ग्रसीले त्यस आरोपलाई अस्वीकार गरेका छन्।
उनले थपे, “हाम्रो रिपोर्टमा जुन कुरा उल्लेख गरिएको थियो, त्यो कुनै नयाँ कुरा थिएन। IAEA ले पहिले नै चेतावनी दिइरहेको थियो कि इरानले आफ्ना परमाणु गतिविधिहरू पर्याप्त रूपमा साझा गरिरहेको छैन।”