
प्रतिनिधिसभाको आजको बैठकमा पुनः तनावपूर्ण अवस्था देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले बैठक सुरु हुनासाथ विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नोत्तर कार्यक्रम नै रोकिएको छ।
बैठक सुरु गर्दै सभामुख देवराज घिमिरेले विनियोजन विधेयकमाथिको छलफल अघि बढाउनु पर्ने बताएका थिए। तर दुवै पार्टीका सांसदहरु विरोधमा उठेपछि वातावरण अशान्त बनेको थियो। सभामुखले बारम्बार अनुरोध गरे पनि सांसदहरु शान्त नभएपछि प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिइयो।
यसैक्रममा, रास्वपा र राप्रपाका सांसदहरुले बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिए। बैठकमा भने विनियोजन विधेयकमाथिको छलफल जारी रह्यो। तर, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइयो, मन्त्रीहरु अनुपस्थित भएका कारण।
विपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यसूची हटाउने विषयमा असहमति जनाउँदै, मन्त्री अनुपस्थित हुँदा छलफल अघि नबढाउनुपर्ने बताए। उनको धारणा अनुसार, सम्बन्धित मन्त्रालयको छलफल पनि रोकिएको हो।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, र भूमि व्यवस्था मन्त्रालय अन्तर्गत विनियोजन खर्च घटाएर एक रुपैयाँ कायम गरिनुपर्ने प्रस्ताव संसदमा पेस गरे।