
नेपाली श्रमिकहरू विदेशमा आपतकालीन अवस्थामा परे तत्काल उद्धार गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्नुपर्ने माग उठेको छ। नेकपा एमालेकी प्रमुख सचेतक सुनिता बरालले संसद्मा बोल्दै यस्तो टोली गठनका लागि परराष्ट्र मन्त्रालयमा छुट्टै संरचना निर्माण गर्नुपर्ने धारणा राखेकी हुन्।
शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गर्दै बरालले विदेशस्थित नेपाली नियोगहरूसँग आमनागरिकको सिधा पहुँच नभएको हुँदा मन्त्रालयमै स्थायी ‘र्यापिड एक्सन टिम’ आवश्यक रहेको बताइन्।
उनले भनिन्, “विदेशमा संकटमा परेका नेपाली श्रमिकलाई तत्काल सहयोग र उद्धार गर्न परराष्ट्र मन्त्रालयमा ‘र्यापिड एक्सन टिम’ आवश्यक छ। सामान्य नागरिकका लागि विदेशस्थित नियोगमा सिधा सम्पर्क गर्न गाह्रो पर्छ। त्यसैले मन्त्रालयमै स्थायी संरचना बनाइनुपर्छ।”
बरालले परराष्ट्र मन्त्रालयले देशको छवि उजागर गर्ने संस्थान भएकाले यसको ‘इन्स्टिच्युसनल मेमोरी’ (संस्थागत स्मृति) र सूचना संयन्त्र अझ बलियो हुनुपर्ने धारणा राखिन्। सरकार र मन्त्री परिवर्तनसँगै पुराना अनुभव र योजनाहरू हराउने प्रचलनले विदेश नीति कमजोर हुने उनको तर्क छ।
साथै, उनले गैरआवासीय नेपाली संघ (NRNA) लगायत विदेशमा रहेका नेपाली समुदायसँगको सहकार्य जीवन्त राख्न मन्त्रालय गम्भीर बन्नुपर्नेमा जोड दिइन्। बरालका अनुसार, नेपाली डायस्पोराको सहयोगले देशको कूटनीतिक सम्बन्ध बलियो बनाउन सहयोग मिल्छ।
अर्को सन्दर्भमा बोल्दै उनले नेपाल आगामी वर्षबाट अल्पविकसित मुलुक (LDC) बाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा वैदेशिक सहायता घट्ने भएकाले भित्रैबाट स्रोत व्यवस्थापनको तयारी अहिलेबाट गर्न सरकारलाई आग्रह गरिन्।
बरालले नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकता अनुसार दक्ष र प्रतिस्पर्धी बनाउनुको साथै विदेशबाट फर्किएकाहरुलाई उद्यमशीलता र रोजगारी सृजनामा प्रयोग गर्नुपर्नेमा पनि जोड दिइन्।