
नेपालमा दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसारको संख्या बर्दियामा एक वर्षमै २६ ले बढेर २ सय ५५ पुगेको छ। आर्थिक वर्ष ०८०/८१ मा कृष्णसारको संख्या २ सय २४ मात्र थियो।
हालको तथ्यांकअनुसार तीमध्ये ४८ भाले, १६२ पोथी, ४१ बच्चा र ४ वटा पहिचान हुन नसकेका (भाले वा पोथी छुट्याउन नसकिएका) छन्।
संरक्षण क्षेत्रका निमित्त प्रमुख रामु केसीका अनुसार पर्याप्त घाँसे मैदान, पिउने पानीको राम्रो व्यवस्था, नियमित गस्ती र अनुगमनले गर्दा कृष्णसारलाई बाहिरी जोखिम न्यून भएको छ, जसले संख्या वृद्धि भएको हो।
कृष्णसारहरू गुलरिया नगरपालिका–२ स्थित खैरापुर क्षेत्रमा फैलिएर रहेका छन्।
गत वर्ष फ्याउरो र स्यालको आक्रमणमा १९ वटा कृष्णसार मारिएका थिए, तीमध्ये एकलाई कुकुरले मारेको थियो। साथै, चितुवाको आक्रमणमा पनि ७ वटा मरेका थिए। यस वर्ष भने चितुवाको आक्रमण देखिएको छैन।
पछिल्ला वर्षहरूमा संरक्षण क्षेत्रमा चितुवा, हुँडार र भुस्याहा कुकुरको आक्रमणबाट कृष्णसारको मृत्यु हुने गरेको भए पनि अहिले ती जनावरहरूको नियन्त्रण गर्न थालेपछि संख्या वृद्धिमा सकारात्मक असर परेको केसीले बताए।
संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवले संरक्षित क्षेत्रमा अवैध रूपमा बसोबास गरेका बस्तीहरू हटाउन आवश्यक रहेको बताए। भूमिहीनहरूको सत्य छानबिन गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
हाल संरक्षित क्षेत्रको कुल क्षेत्रफल ७०८ बिघा भए पनि त्यसमध्ये ३५० बिघा जग्गा भूमिहीनका नाममा घर जग्गा भएकाहरूले अतिक्रमण गरेको समितिको भनाइ छ।
विसं २०२६ देखि ५१ घर परिवार ऐलानी जमिनमा बस्दै आएका छन्। तीमध्ये ३३ हेक्टर जग्गामा ती घर रहेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार यो क्षेत्र पर्यटक आकर्षणको केन्द्र बन्ने सम्भावना बोकेको भए पनि राज्यस्तरबाट कुनै ठोस पहल हुन सकेको छैन। सरकारले वि.सं. २०६५ सालको चैत ३ गते यो क्षेत्रलाई आधिकारिक रूपमा “कृष्णसार संरक्षण क्षेत्र” घोषणा गरेको थियो।