
अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा हवाई आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघ (UN) का महासचिव एन्टोनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गरेका छन्।
गुटेरेसले सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा लेख्दै अमेरिकी कारबाहीले मध्यपूर्व क्षेत्रलाई अझै अशान्त बनाउन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार, “म आज इरानविरुद्ध अमेरिकाले चलाएको सैन्य कारबाहीप्रति गम्भीर चिन्तित छु। यो कदमले त्यो क्षेत्रलाई अझ संवेदनशील बनाउन सक्छ, जुन पहिले नै तनावपूर्ण अवस्थामा छ। यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ।”
उनले यो संघर्ष नियन्त्रणबाट बाहिर जान सक्ने जोखिम बढेको र यसले इरान, आसपासका मुलुक र विश्व समुदायमा गम्भीर मानवीय असर पार्न सक्ने उल्लेख गरेका छन्।
महासचिव गुटेरेसले सबै सदस्य राष्ट्रहरूलाई स्थिति थप नबिग्रियोस् भन्नेमा ध्यान दिन र संयमता अपनाउन आग्रह गरेका छन्। साथै उनले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको पूर्ण पालना गर्न पनि अपिल गरेका छन्।
उनले भने, “यस संकटको समाधान सैन्य माध्यमबाट सम्भव छैन। कूटनीति नै एक मात्र विकल्प हो र शान्ति नै हाम्रो सबैभन्दा ठूलो आशा हो।”