
रोजगारीको आकर्षक प्रलोभन देखाउँदै भारतको उत्तराखण्ड राज्यमा बन्धक बनाइएका ३५ जना नेपालीको सफल उद्धार गरिएको छ। दिल्लीस्थित सामाजिक संस्था ‘किन इन्डिया’ र उत्तराखण्ड प्रहरीको संयुक्त प्रयासमा उनीहरूलाई काशीपुर क्षेत्रबाट उद्धार गरिएको हो।
‘किन इन्डिया’का प्रमुख नवीन जोशीका अनुसार उद्धार गरिएका नेपालीहरू १६ देखि ४१ वर्ष उमेर समूहका हुन्। उनीहरूलाई दुई सातादेखि १० महिनासम्म तीन वटा कोठामा बन्धक बनाइएको पाइएको छ। बन्धक बनाइएकाहरू ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सुनसरी, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी जिल्लाका छन्।
बन्धक बनाइएकाहरूमाथि कुटपिट र मानसिक यातना दिइएको पाइएको छ। कतिपयको शरीरमा चोटपटक पनि देखिएको छ।
हिन्दुस्तान दैनिकका अनुसार तिनलाई डरधम्की देखाएर जबर्जस्ती राखिएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी उत्तमसिंह नेगीका अनुसार घटनामा नेपाली नागरिकको संलग्नता देखिएको छ। धनगढीका वीरेन्द्र शाही र अन्य दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरिसकेको छ।
रोजगारीको नाममा शोषण र ठगी
प्रहरी अनुसन्धानअनुसार, तिनै नेपाली नागरिकहरूलाई प्रयोग गरी नेपालबाट चिनेजानेकालाई आकर्षक तलब र जागिरको प्रलोभन देखाएर भारत ल्याइने गरिन्थ्यो। भारत आएपछि कागजपत्र बनाउने निहुँमा २०–५० हजार भारु असुली गरिन्थ्यो।
पछि काममा राख्ने नाममा लठ्याएर राख्ने र डरधम्की दिएर थप मानिस ल्याउन बाध्य बनाउने रणनीति अपनाइन्थ्यो। जोशीका अनुसार यसै क्रममा ताप्लेजुङका २८ वर्षीय एक युवकको उधमसिंहनगरमा मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रशासनबाट उजुरी, दूतावास सक्रिय
घटनाको जानकारी तब मात्र बाहिर आयो जब एक जना पीडित ताप्लेजुङको जिल्ला प्रशासन कार्यालय पुगे। उनले दिएको उजुरीपछि दिल्लीस्थित नेपाली दूतावास सक्रिय बन्यो। दूतावासले ‘किन इन्डिया’ सँग समन्वय गर्दै उत्तराखण्ड प्रहरीलाई उद्धारमा सहयोग गर्यो।
‘३५ नेपालीको उद्धार सम्पन्न भइसकेको छ, तर अझै केही नेपाली पनि बन्धकमा रहेको सूचनामा आएको छ। उनीहरूको उद्धारका लागि प्रयास भइरहेको छ,’ जोशीले जानकारी दिए।