
सत्तारूढ नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले प्रतिनिधिसभामा संसदको रोस्ट्रमबाटै दुइ उपप्रधानमन्त्रीविरुद्ध असन्तुष्टि पोख्दै “आगामी निर्वाचनमा यी दुबै संसद्मा नआउन्” भन्ने कामना गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट बाँडफाँटमा केवल आफ्ना निर्वाचन क्षेत्र केन्द्रित गरिएको भन्दै गम्भीर आपत्ति जनाए।
उनले भने, “२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआउन् भन्ने कुरा बुद्ध भगवान र पशुपतिनाथसँग प्रार्थना गर्छु।”
सिंह र पौडेलमाथि गम्भीर आरोप
सांसद तामाङका अनुसार सहरी विकास मन्त्रालयले काठमाडौँ जिल्लामा मात्रै २०७ वटा योजना समेटेको छ भने अर्थ मन्त्रालयले रुपन्देहीमा ७९ वटा योजना केन्द्रित गरेको छ।
“काठमाडौँमा दुई लाखदेखि दुई करोड बजेट भएका १५० योजना, तर अरू जिल्लामा योजना छैनन्, के यसरी देश चल्छ?” तामाङले प्रश्न गरे।
पार्टीभित्रै उठ्यो असन्तुष्टि
सांसद तामाङले कांग्रेस नेतासमेत रहेका प्रकाशमान सिंहको कार्यशैलीको आलोचना गर्दै आगामी पार्टी महाधिवेशनमा उनको नेतृत्वविरुद्ध आवाज उठाउने चेतावनी पनि दिए।
उनले भने, “तपाईं प्रधानमन्त्री बन्ने लाइनमा हुनुहुन्छ, तर काठमाडौँ मात्र देख्ने ? १५औँ महाधिवेशनमा तपाईंलाई सोधिन्छ।”
त्यस्तै, अर्थमन्त्री पौडेललाई ६८३ मतले मात्रै जितेर आएको स्मरण गराउँदै तामाङले रुपन्देहीका मतदातालाई बेवास्ता नगर्न चेतावनी दिए।
सांसद तामाङले भने, “अरू सांसदहरूले त बजेट पुस्तिका च्याते, म त यी दुई उपप्रधानमन्त्री संसद्मा नआउन् भनेर प्रार्थना गर्छु।”
उनको यो टिप्पणीले बजेट वितरणमा सत्ता पक्षमै तीव्र असन्तुष्टि देखिएको पुष्टि गर्छ।