Join our Channel

भिजिट भिसा काण्डमा छानबिन समिति बन्ने पक्का : अध्यक्ष दाहालको स्पष्ट संकेत

भिजिट भिसा काण्डमा छानबिन समिति बन्ने पक्का : अध्यक्ष दाहालको स्पष्ट संकेत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको गम्भीरताका कारण अब यसबारे उच्चस्तरीय छानबिन समिति गठन हुने स्पष्ट संकेत गरेका छन्।

उनले सत्ता गठबन्धनभित्र भिजिट भिसा सम्बन्धी दुई बुँदे सहमति भएको भए पनि हालसम्म छानबिन समिति नबनेकाले संसदमा अवरोध भइरहेको बताए। प्रधानमन्त्री, एमाले अध्यक्ष तथा कांग्रेस सभापतिसहित शीर्ष नेताहरूबीच समिति बनाउने सैद्धान्तिक सहमति भइसकेको र अब समिति बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसद् अवरोध हट्ने विश्वास पनि व्यक्त गरे।

“समिति बनेपछि कार्यादेश हेरेपछि शंका हट्छ, विरोध अनन्त रहँदैन,” दाहालले भने, “भिजिट भिसा मामिला अहिलेका गृहमन्त्रीबाट सुरु भएको होइन, यो धेरै वर्षदेखि चल्दै आएको गम्भीर विषय हो।”

दाहालका अनुसार यो विषयमा अन्तर्राष्ट्रिय चासो समेत रहेको र त्यसैले गम्भीर ढंगले छानबिन आवश्यक छ। उनले भिजिट भिसा काण्डलाई राष्ट्रिय महत्त्वको विषय मानेका छन्।

संसद सञ्चालन र बजेट पेसमा माओवादीको सहयोग

दाहालले माओवादीले संसद अवरोध अन्त्य गरेर जेठ १५ को बजेट पेस र आर्थिक सर्वेक्षण प्रस्तुतिमा सकारात्मक भूमिका खेलेको बताए। उनले भने,

“हामी सधैं प्रतिपक्ष हुँदा पनि जिम्मेवार भएर काम गरेका छौं। यो मुद्दामा पनि सरकारसँग छानबिन समिति बनाउने प्रतिबद्धता भएपछि हामीले संसद चल्न दिनु आवश्यक ठानेका थियौं।”

उनले सरकार एक महिनाभित्र छानबिन समिति बनाउने प्रतिबद्धतामा दृढ भएकोले अब अनावश्यक अवरोध उचित नहुने स्पष्ट पारे।

Leave a comment