
इजरायलले सोमबार बिहान इरानको पश्चिमी सहर केरमानशाहमा रहेको सैन्य संरचनामाथि लक्षित गर्दै हवाई आक्रमण गरेको छ। इजरायली डिफेन्स फोर्स (IDF) का अनुसार तेहरानको दक्षिण–पूर्वमा अवस्थित ठूलो सैन्य कम्प्लेक्स पारचिनमा हवाई हमला गरिएको हो।
IDF का प्रवक्ताका अनुसार यो आक्रमण इरानका सैन्य पूर्वाधारहरू नष्ट गर्ने उद्देश्यले गरिएको हो। आक्रमणका क्रममा सैन्य गुप्त सूचनाका आधारमा रणनीतिक स्थानहरूमा क्षति पुर्याइएको दाबी गरिएको छ।
सोही दिन इरानले पनि इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो। तर इजरायलको हवाई सुरक्षा प्रणालीले ती मिसाइलहरू मार्गमै रोक्न सफल भएको थियो।
हालसालै इजरायल र इरानबीचको सम्बन्ध अत्यन्त तनावग्रस्त बनेको छ। दुबै देशका नेताहरूले आ–आफ्नो देशको सुरक्षालाई प्राथमिकता दिँदै सैन्य तयारीमा तीव्रता ल्याएका छन्।
यो घटनाले मध्यपूर्वमा रहेका अन्य देशहरूलाई समेत चनाखो बनाएको छ। विश्लेषकहरूका अनुसार परिस्थिति अझै गम्भीर बन्न सक्ने सम्भावना उच्च छ।