
ईपीएस (EPS) प्रणालीमार्फत दक्षिण कोरिया जान चाहने नेपाली श्रमिकहरूले अबदेखि पुनः दर्ता (रि-रजिस्ट्रेसन) अनलाइनमार्फत मात्र गर्नुपर्ने भएको छ। यसअघि शाखामा उपस्थित भई म्यानुअल रूपमा दर्ता गर्नुपर्ने प्रणालीलाई हटाएर मंगलबार (असार ६) देखि पूर्ण रूपमा अनलाइन सेवा लागू गरिएको हो।
ईपीएस कोरियन शाखाका अनुसार, कोरिया प्रवेशका लागि रोजगार अनुमति प्रणालीमार्फत नाम नआएका श्रमिकहरूलाई पुनः योग्य सूचीमा राख्न स्वास्थ्य परीक्षण गरेर रोजगार आवेदन फारम भर्ने प्रक्रिया अनिवार्य हुन्छ। अबदेखि यो प्रक्रिया अनलाइनमार्फत मात्र हुनेछ।
शाखामा गएर म्यानुअल फाइल दर्ता गर्ने व्यवस्था मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिएको छ। यो निर्णयले सेवा सरल, पारदर्शी र डिजिटल बनाउने सरकारको प्रयासलाई टेवा पुर्याउने विश्वास गरिएको छ।