
भिजिट भिसा प्रकरणमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बहिष्कार गरेका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको मागलाई यथावत राख्दै आजको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्।
आजको बैठकमा विनियोजन विधेयकमाथि छलफलका लागि तयारी गरिएको थियो। तर बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए।
सांसद नेपालीले भिजिट भिसा प्रकरणमा सरकारले अनुसन्धान नगरेर मौन बसिरहेको आरोप लगाए। उनले सरकार आफ्ना मागहरू सम्बोधन गर्नुको सट्टा दबाउन खोजेको पनि बताए।
उनले माग सम्बोधन नभएसम्म संसदमा अवरोध कायमै राख्ने चेतावनी दिए। उनले बोलेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै संसद भवनबाट बाहिरिएका छन्।
यस घटनाले संसदमा पुनः असहज परिस्थिति सिर्जना गरेको छ भने सरकारले माग सम्बोधन गर्ने कि संसद अवरोध झेलिरहने भन्ने दोधार थपिएको छ।