
नेपाली बजारमा बहुप्रतिक्षित इलेक्ट्रिक कार बीवाईडी डल्फिन २०२५ सार्वजनिक गरिएको छ। चीनको BYD Auto Industry को आधिकारिक नेपाली वितरक Cimex Inc. ले शुक्रबार राजधानीमा एक कार्यक्रमबीच नयाँ संस्करण सार्वजनिक गरेको हो।
नयाँ डल्फिन २०२५ ले नेपालको EV ह्याचब्याक बजारलाई नयाँ स्तरमा पुर्याउने कम्पनीको दाबी छ। यो मोडलमा पहिलो पटक Lithium Iron Phosphate (LFP) Low Voltage Battery प्रयोग गरिएको छ, जुन EV उद्योगकै नयाँ मापदण्ड हो। कम्पनीका अनुसार यो ब्याट्री परम्परागत लिड–एसिड ब्याट्रीभन्दा छ गुणा हल्का र पाँच गुणा कम सेल्फ-डिस्चार्ज हुने किसिमको छ। यसको आयु १५ वर्षसम्म हुने जनाइएको छ।
ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किमी वारेन्टी दिइनेछ। यसमा समावेश BYD E-Platform 3.0 र ब्लेड ब्याट्री टेक्नोलोजी मार्फत प्रयोगकर्ताले ३४० किमीको WLTP रेन्ज पाउनेछन्। साथै, DC फास्ट चार्जिङ क्षमताले यो कार ३० मिनेटमै ८०% चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
बीवाईडी डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ, जसमा ७ किलोवाट क्षमताको होम चार्जर पनि समावेश गरिएको छ। कम्पनीका अनुसार यो मोडल विश्वभर ८ लाख ३० हजार युनिट बिक्री भइसकेको छ भने नेपालमा २,४९० युनिट डेलिभर भइसकेका छन्।