Join our Channel

काठमाडौंमा ४ वर्षभित्र २४ घण्टा पानी: खानेपानीमन्त्री प्रदीप यादवको ठोस दाबी

काठमाडौंमा ४ वर्षभित्र २४ घण्टा पानी: खानेपानीमन्त्री प्रदीप यादवको ठोस दाबी

खानेपानी तथा ढल व्यवस्थापनमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा आगामी चार वर्षभित्र चौबीसै घण्टा र वर्षैभरि खानेपानी आपूर्ति हुने स्पष्ट दाबी गरेका छन्।

प्रतिनिधिसभामा सोमबार बजेट विनियोजनमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनामा दीर्घकालीन समाधानका लागि काम भइरहेको जानकारी दिए। उनले टेन्डर आह्वान भइसकेको र आवश्यक बजेटको पनि व्यवस्थापन भइसकेको स्पष्ट पारे।

“यो केवल कागजमा होइन, टेन्डर आह्वान भइसकेको छ र पैसाको व्यवस्था पनि गरिएको छ। काठमाडौंमा अबको चार वर्षभित्र २४ सै घण्टा, १२ महिना पानी आउने सुनिश्चित छ,” मन्त्री यादवले भने।

सांसदहरूले मन्त्रालयले पहुँचका आधारमा बजेट बाँडेको आरोप लगाएका थिए। तर मन्त्री यादवले त्यसको खण्डन गर्दै भने, “बजेट आवश्यकताको आधारमा वितरण गरिएको हो, न कि पहुँचको आधारमा। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री वा ठूला नेताहरूको क्षेत्रमा बढी बजेट दिइएको छैन।”

उनले थपे, “हामीले सन्तुलित ढंगले बजेट विनियोजन गरेका छौं। सांसदहरूले रिस होइन, मायापूर्वक यो विनियोजन पास गरिदिन अनुरोध गर्दछु।”

मन्त्री यादवले दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखी बजेट निर्माण गरिएको पनि उल्लेख गरे। उनले सांसदहरूलाई भने, “वडा वा टोल छुट्यो भनेर चिन्ता नलिनुस्, समग्र राष्ट्रिय आवश्यकता हेरेर बजेट बनाइएको हो।”

Leave a comment