
इराकको नागर विमान प्राधिकरण (ICAA) ले देशको आकाशमार्ग अन्तर्राष्ट्रिय उडानहरूका लागि पुनः खुला गरेको घोषणा गरेको छ। पछिल्लो सुरक्षा मूल्याङ्कनले सन्तोषजनक अवस्था देखाएको भन्दै मंगलबार बिहान जारी गरिएको विज्ञप्तिमा यो निर्णय सार्वजनिक गरिएको हो।
प्राधिकरणका अध्यक्ष बाङ्गिन रेकार्नीले इराकको वर्तमान सुरक्षा अवस्था हवाई सेवा पुनः सुरु गर्न पर्याप्त विश्वसनीय रहेको बताएका छन्। उनले भने, “इराकको भौगोलिक स्थिति अन्तर्राष्ट्रिय उडान मार्गमा महत्वपूर्ण छ। आकाशमार्ग पुनः सञ्चालनमा आउँदा पूर्व र पश्चिमलाई जोड्ने सुरक्षित र छोटो विकल्पको रूपमा इराकको भूमिका अझै सशक्त हुने विश्वास गरिएको छ।”
यो निर्णय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा निकायहरूसँगको समन्वयमा व्यापक सुरक्षा मूल्याङ्कनपछि गरिएको बताइएको छ।
इराकले यसअघि २०२५ जुन १३ मा सुरु भएको इजरायल–इरान तनावका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय उडान मार्गहरू अस्थायी रूपमा बन्द गरेको थियो। तर, हाल सुरक्षा अवस्था सुधारिएको ठहर गर्दै पुनः आकाशमार्ग खोलिएको हो।
प्राधिकरणका अनुसार, यस निर्णयले अन्तर्राष्ट्रिय उडानहरूलाई समय, दूरी र इन्धन खर्चमा ठूलो राहत दिनेछ।