Join our Channel

५१ लाखको ठेक्का लिएर ठेकेदार फरार! शिखर नगरपालिकाको सडक निर्माण अलपत्र

५१ लाखको ठेक्का लिएर ठेकेदार फरार! शिखर नगरपालिकाको सडक निर्माण अलपत्र

डोटीको शिखर नगरपालिका–११ मा निर्माणाधीन सडकको ठेक्का लिएका ठेकेदार कम्पनी JDMR Builders काठमाडौं काम छोडेर फरार भएको छ।

शिखर नगरपालिकाको समपूरक अनुदानमार्फत बन्न लागेको नालीदेखि सिमार सडकको निर्माणका लागि २०८१ साल फागुन ५ गते कम्पनीसँग ५१ लाख २१ हजार ९५५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौता भएको दोस्रो दिनमै कम्पनीले १० लाख २५ हजार रुपैयाँ पेस्की बापत लिइसकेको इन्जिनियर संजय खड्काले जानकारी दिए।

उनका अनुसार, काम सम्पन्न गर्ने अन्तिम म्याद २०८२ साल असार १६ तोकिएको भए पनि ठेकेदार रवि सिंह एक महिनादेखि सम्पर्कविहीन छन्। सम्झौता गर्दा खुलेको ठेक्का रकम १ करोड २८ लाख २१ हजार ७८६.५३ रुपैयाँ थियो।

“५१ लाख रुपैयाँको बोलपत्र दिएर ठेक्का पाएको कम्पनीले अहिले सम्म साइडमा २० प्रतिशत काम पनि नगरी सम्पर्कविहीन भएको छ,” इन्जिनियर खड्काले भने।

वडा नं. ११ का वडाध्यक्ष कर्णबहादुर विष्टले ठेकेदारलाई पटक–पटक पत्र काटिए पनि कुनै जवाफ नआएको बताए। “ठेकेदार फरार छन्, अब हामी कानुनी प्रक्रिया अघि बढाउँदैछौं,” उनले भने।

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले पनि ठेकेदारले तीन पटक ताकेता गरिएको पत्रलाई बेवास्ता गरेको बताए। “अब कानुनी रुपमा ठेकेदारविरुद्ध कारबाही गरिनेछ,” नगर प्रमुख बलायरले स्पष्ट पारे।

यो सडक निर्माण सम्पन्न भए वडा नं. ११ पनि सडक सञ्जालसँग जोडिने थियो। तर हालका लागि यो योजना अधुरै छाडिएको छ।

Leave a comment