Join our Channel

नुवाकोटमा भीषण बाढी: घर बगाउँदा श्रीमती बेपत्ता, श्रीमान् गम्भीर घाइते

नुवाकोटमा भीषण बाढी: घर बगाउँदा श्रीमती बेपत्ता, श्रीमान् गम्भीर घाइते

नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवाको गंगरवगर क्षेत्रमा गएको भीषण बाढीले घर बगाउँदा एक महिला बेपत्ता भएकी छिन् भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

वडाध्यक्ष पदमबहादुर वलामीका अनुसार बिमचा खोल्सामा आएको ठूलो बाढीले घर बगाउँदा ३३ वर्षीया कमला वलामी बेपत्ता भएकी हुन्। उनका ३५ वर्षीय श्रीमान् आकाश वलामी घाइते अवस्थामा रहेका छन् र हाल काठमाडौँमा उपचार भइरहेको जनाइएको छ।

घटनास्थलमा तत्काल उद्धार कार्य सुरु गरिएको र कमला वलामीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीले स्थानीय सात घरगोठ र पशुचौपाय समेत बगाएको वडाध्यक्ष वलामीले बताए। प्रभावितमा लालबहादुर वलामी, श्यामलाल वलामी, धनराज वलामीलगायतका परिवारहरू छन्।

लगातारको वर्षासँगै आएको बाढीले यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। स्थानीय प्रशासन, प्रहरी र उद्धार टोलीले खोज र राहत कार्य तीव्र रूपमा गरिरहेको छ।

Leave a comment