
परराष्ट्रमन्त्री आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार बिहान इटाली प्रस्थान गरेकी छन्। सम्मेलन जुन २८ देखि जुलाई ४ सम्म रोममा आयोजना हुँदैछ।
मन्त्री राणालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाइ गरेका थिए। सम्मेलनको प्रमुख सत्रका साथै अन्य उच्चस्तरीय कार्यक्रमहरूमा मन्त्री राणाले नेपाललाई प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम छ।
मन्त्री राणाको नेतृत्वमा अष्ट्रियाका लागि नेपाली राजदूत एवं एफएओका लागि स्थायी प्रतिनिधि, परराष्ट्र मन्त्रालय तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सम्मिलित छन्।
एफएओ सम्मेलनपछि मन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा आयोजना हुने लगानी बोर्ड नेपालका कार्यक्रमहरूमा सहभागी हुनेछिन्। उक्त भ्रमण नेपालका लागि कूटनीतिक र लगानी अभिवृद्धिको अवसरका रूपमा लिइएको छ।