
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारमा शनिबार बिहान सडक छेउमा एक अन्दाजी ४० वर्षीय पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार ती पुरुषको टाउकोमा गम्भीर चोट लागेको थियो। स्थानीयले खबर गरेपछि प्रहरी टोलीले तत्काल उद्धार गरी उनलाई हेटौंडा अस्पताल पुर्याएको थियो। तर, उपचार सुरू हुनुअघि नै डाक्टरले मृत घोषणा गरेका छन्।
हालसम्म मृतकको नाम, थर र ठेगाना नखुलेको प्रहरीले जनाएको छ। मृत शरीर अहिले हेटौंडा अस्पतालमै राखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनलाई सवारी साधनले ठक्कर दिएको आशंका गरिएको छ। यद्यपि, सवारी दुर्घटना वा अन्य कुनै आपराधिक कारणले मृत्यु भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।