Join our Channel

२४ सैं घण्टा विद्युत् उत्पादनमा फर्कियो तामाकोशी, बर्खामा पनि पूर्ण क्षमतामा संचालन

२४ सैं घण्टा विद्युत् उत्पादनमा फर्कियो तामाकोशी, बर्खामा पनि पूर्ण क्षमतामा संचालन

स्वदेशी लगानीमा निर्माण गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब २४ सैं घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ। गत वर्ष पहिरोले क्षति पुर्‍याएका डिस्यान्डर पोखरीहरूको आंशिक मर्मतपछि आयोजनाले ४५६ मेगावाट क्षमतामा लगातार उत्पादन थालेको हो।

गत वर्ष असोज ११ गते आएको पहिरोले जलविद्युत् केन्द्रको डिस्यान्डर, विद्युत् नियन्त्रण कक्ष र भूमिगत नहरमा ठूलो क्षति पुर्‍याएको थियो। जसका कारण तीन महिनासम्म विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो।

प्रबन्धक पूर्णगोपाल रञ्जितका अनुसार, दायाँ र बायाँतर्फका डिस्यान्डरमध्ये एकको मर्मत पहिले गरि बाँध खोलेर आंशिक उत्पादन सुरु गरिएको थियो। अब अर्को डिस्यान्डरको पनि आंशिक मर्मत सकिएपछि बाँधमा पानी जम्मा गरेर उत्पादन पुनः पूर्ण क्षमतामा ल्याइएको हो।

रञ्जितले भने, “तामाकोशीलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएका छौं, यद्यपि पुनर्निर्माण कार्य अझै बाँकी छ। बर्खामा घाटा कम गर्न हामीले अस्थायी रूपमा दुवै डिस्यान्डर चलाएका छौं।”

उनका अनुसार दुवै डिस्यान्डरको पूर्ण मर्मत सकिन अझै ४५ दिन लाग्नेछ। यदि डेढ महिना कुर्ने हो भने घाटा अझै बढ्ने भएकाले आंशिक रूपमा मर्मत गरी उत्पादन अगाडि बढाइएको हो। लेदोले क्षति पुर्‍याएको भूमिगत नहरको मर्मत कार्य सकिएको उनले बताए।

विद्युत् नियन्त्रण कक्षको नयाँ भवन निर्माण भइरहेको छ। अघिल्लो वर्ष पहिरोले भवन पूर्णरूपमा भत्काउँदा दुई कर्मचारी र दुई जना सुरक्षाकर्मीको ज्यान गएको थियो। आयोजनाले सिभिल र इलेक्ट्रो मेकानिकल उपकरणमा भएको क्षतिको बिमा बापत १ अर्ब ८० करोड रुपैयाँको दाबी गरेको छ।

तामाकोशीले दैनिक ४ करोड रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्न सक्छ। हिउँदमा पनि लोड व्यवस्थापनका लागि यो आयोजना प्रयोग हुँदै आएको छ। अर्धजलाशययुक्त प्रकृतिको आयोजना भएकाले बर्खामा २४ सैं घण्टा, हिउँदमा ४–६ घण्टा उत्पादन हुने गरेको छ।

अहिले अपर तामाकोशी हाइड्रोपावर कम्पनीले रोल्वालिङ खोलाबाट पानी डाइभर्सन गर्ने नयाँ आयोजना निर्माण गरिरहेको छ, जसबाट २२ मेगावाट थप विद्युत् उत्पादन गरिनेछ। त्यसपछि उक्त पानी पुनः तामाकोशीको बाँधमा पठाइनेछ।

Leave a comment