Join our Channel

मनसुन आए पनि देशभर धान रोपाइँ सुस्त, मधेशमा सबैभन्दा कम

मनसुन आए पनि देशभर धान रोपाइँ सुस्त, मधेशमा सबैभन्दा कम

देशभर मनसुन समयमै सुरु भए पनि यो वर्ष धान रोपाइँको गति अपेक्षा गरेजस्तो देखिएको छैन। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म अर्थात् असार १४ गतेसम्म जम्मा १७ दशमलव २ प्रतिशत क्षेत्रमा मात्र धान रोपिएको छ।

मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा २३.९ प्रतिशत, बागमतीमा १९.६ प्रतिशत, लुम्बिनीमा १८.५ प्रतिशत, कोशीमा १३.७ प्रतिशत र गण्डकीमा १२.४ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ। तर, धानको भण्डारको रूपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम ८.२ प्रतिशत क्षेत्रमा मात्रै धान रोपिएको छ।

सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित रासायनिक मल र उन्नत बीउको व्यवस्था गरे पनि, अपेक्षित क्षेत्रमा रोपाइँ हुन नसकेको देखिन्छ। यद्यपि, मनसुन समयमै सुरु भएको र उत्पादन सामग्री सहज रूपमा उपलब्ध भएकोले आगामी दिनमा रोपाइँ तीव्र हुने सरकारी अपेक्षा छ।

नेपालमा कुल खेतीयोग्य जमिनमध्ये करिब ५० प्रतिशत क्षेत्रमा धान खेती गरिन्छ। हाल ७७ वटै जिल्लामध्ये ७५ जिल्लामा धान खेती हुने गरेको छ भने कुल करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुने तथ्यांक मन्त्रालयले जनाएको छ।

Leave a comment