Join our Channel

भोजपुरको दावा बजारमा पहिलोपटक ५० घरमा धारा जडान, वर्षौंको पानीको समस्या समाधान

भोजपुरको दावा बजारमा पहिलोपटक ५० घरमा धारा जडान, वर्षौंको पानीको समस्या समाधान

भोजपुर नगरपालिका–४ स्थित दावा बजारका बासिन्दाहरू वर्षौँदेखिको खानेपानीको समस्याबाट अब मुक्त भएका छन्। ‘दावा बजार खानेपानी आयोजना’ सञ्चालनमा आएपछि स्थानीयलाई अत्यधिक सहजता मिलेको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले उक्त क्षेत्रमा ५० घरमा ‘एक घर, एक धारा’ योजना अन्तर्गत धारा जडान गरिसकेको छ। स्थानीय उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानका अनुसार, दावामा पानीको चरम अभाव रहेको अवस्थामा आयोजना सम्पन्न भएसँगै समस्या हटेको छ।

“हामीले ५० घरमा धारा जडान गरेका छौं,” अध्यक्ष प्रधानले बताए, “अब पानीको समस्या छैन, स्थानीय खुसी छन्।”

यस आयोजनाले चार किलोमिटर लामो मुख्य पाइपलाइन र चार दशमलव पाँच किलोमिटर लामो वितरण लाइनमार्फत पानी वितरण गरिरहेको छ। आयोजनाको कुल लागत करिब ६० लाख रुपैयाँ रहेको डिभिजन प्रमुख आशुतोष ठाकुरले जानकारी दिए।

“हामीले आयोजनाको स्थलगत अनुगमन पनि गरेका छौं,” प्रमुख ठाकुरले भने, “दावा बजारको पुरानो पानी संकट अब समाप्त भएको छ।”

स्थानीय बासिन्दा लक्ष्मी भण्डारी भन्छिन्, “अहिले धारा घरमै भएपछि आधा रातदेखि लाइन लाग्ने बाध्यता हटेको छ। पानी ल्याउन टाढा जानु पर्दैन।”

उनका अनुसार पानीको अभावका कारण दैनिक घरायसी काममा समस्या हुने गरेको थियो तर अहिले सरसफाइदेखि खाना पकाउनेसम्म सजिलो भएको छ।

भोजपुरका अन्य ठाउँहरूमा पनि यस्तै खानेपानी आयोजना सञ्चालन गर्ने तयारी भइरहेको डिभिजन कार्यालयले जानकारी दिएको छ।

Leave a comment