
भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) र राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले आज पुनः प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्।
बजेट कार्यान्वयनसँग सम्बन्धित विधेयक पारित गर्न बसेको बैठक सुरु हुने बित्तिकै दुवै दलका सांसदहरू उठेर विरोधमा उत्रिएका थिए। उनीहरूको मुख्य माग भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन विभागसँग जोडिएको भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नु हो।
यसअघि मन्त्रिपरिषद्ले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेपनि उक्त समिति निष्पक्ष नहुने भन्दै अस्वीकार गरिएको छ। रास्वपा र राप्रपाका सांसदहरूले वैरागी समिति ‘झारा टार्ने’ प्रयोजनका लागि मात्र बनाइएको आरोप लगाउँदै छन्।
आजको बैठकमा सभामुख देवराज घिमिरेले रास्वपाका सांसद गणेश पराजुली र रोसन कार्कीलाई बोल्न समय दिएका थिए। त्यसपछि कांग्रेस सांसद अर्जुन नरसिंह केसीलाई समय दिने क्रममा रास्वपाका सांसदहरू वेल घेरेर विरोधमा उत्रिएका थिए।
संसद अवरुद्ध भइरहँदा देशको बजेट कार्यान्वयन प्रक्रिया प्रभावित हुनसक्ने देखिएको छ। विपक्षी दलहरूको दबाबका बीच सरकार अब के निर्णय लिन्छ भन्ने प्रतीक्षा गर्नुपर्नेछ।