Join our Channel

ओलीको चेतावनी: स्वार्थ खोज्ने नेताहरूको हिसाब–किताब हुने, मिसन २०८४ मा बाधा नपुर्‍याउन चेतावनी

ओलीको चेतावनी: स्वार्थ खोज्ने नेताहरूको हिसाब–किताब हुने, मिसन २०८४ मा बाधा नपुर्‍याउन चेतावनी

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको “मिशन २०८४” अभियानमा बाधा सिर्जना गर्ने स्वार्थी नेताहरूलाई कडा चेतावनी दिएका छन्। जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी–१३ कङ्कालीमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाधिवेशन नआउँदै भित्रभित्रै स्वार्थको राजनीति गर्नेहरूलाई पार्टीले बेवास्ता गर्ने बताएका हुन्।

ओलीले भने,

“हामी अर्जुन दृष्टिसहित मिशन २०८४ मा अघि बढिरहेका छौँ। हाम्रो प्राथमिकता समृद्धि, विकास र सुशासन हो। यस्तो समयमा महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन।”

उनका अनुसार, पार्टी कार्यकर्ताहरू महाधिवेशनको तयारीमै नभएर मिसन २०८४ मा केन्द्रित छन्, तर केही स्वार्थी समूहहरू महाधिवेशनको नाममा आन्तरिक अस्थिरता फैलाउने प्रयासमा छन्।

“हाम्रो ध्यान विचलित गराउनेहरूलाई पछ्याउनु हुँदैन,” उनले जोड दिए।

कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यो वर्ष १४% बढी विद्यार्थी उत्तीर्ण भएकोमा खुशी व्यक्त गरे। साथै, आउँदो वर्षको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने जानकारीसमेत दिए। उनले मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई समेत विशेष तयारी गरिने बताए।

Leave a comment