
जन्तेढुंगा गाउँपालिका, खोटाङ — जन्तेढुंगा गाउँपालिकाले आफैंले ६० रोपनी बाँझो जमिन खनजोत गरी लगाएको आलु खन्न सुरु गरेको छ।
वडा नं ४ डम्बर्खुशिवालयस्थित गाउँपालिकाको नाममा रहेको ११ रोपनी जग्गा र अन्य सार्वजनिक जग्गालाई समेटेर कुल ६० रोपनी बारीमा आलु रोपिएको हो। गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार कृषिबाट सिफारिस गरिएको तीन क्विन्टल बीउ र स्थानीय सात मुरी आलुको प्रयोग गरिएको थियो।
गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काका अनुसार १५ रोपनी क्षेत्रमा मकै र आलु सँगसँगै लगाइएको छ भने बाँकी जमिनमा मात्रै आलु खेती गरिएको हो। एक सातासम्म आलु खन्ने कार्य जारी रहने अनुमान गरिएको छ।
पहिलो दिन मात्रै ३५ केजीको २४ बोरा आलु उत्पादन भएको छ। उत्पादन सकिएपछि मात्र कूल परिमाण थाहा हुने उपाध्यक्ष खड्काले जानकारी दिए।
स्थानीय बजारमा हाल आलुको मूल्य प्रतिकेजी ७० रूपैयाँ रहेको भए पनि गाउँपालिकाले उत्पादन गरेको आलु प्रतिकेजी ६० रूपैयाँमा बिक्री गर्ने योजना बनाइएको छ।
योजना अनुसार, पालिकाले मलका लागि तीन लाख खर्च गरी दुई वटा भैंसी पनि खरिद गरेको छ। साथै, आलु निकालिसकेपछि सोही क्षेत्रमा तिते फापर खेती गर्ने तयारी समेत भइरहेको छ।
गाउँपालिकाले कृषि उत्पादन, रैथाने बालीको प्रवर्धन र स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै यस्तो योजना अघि सारेको अध्यक्ष राईले बताइन्।