
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार) र भोलि (आइतबार) पश्चिम नेपालका १२ जिल्लामा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको हो।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर; कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान; र लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लामा उच्च जोखिम रहेको छ।
यसका अतिरिक्त, अन्य प्रदेशका केही उच्च पहाडी भागमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही स्थानमा पहिल्यै भारी वर्षा भइसकेको विभागले जनाएको छ। अहिले देशभर बदलीको अवस्था छ र विभिन्न ठाउँमा वर्षा भइरहेको जानकारी दिइएको छ।
आसन्न जोखिमहरू
असार १६ गते सोमबार बिहानसम्म विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागमा भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। यसले आकस्मिक बाढी र पहिरोको जोखिम बढाउने भएकाले नदी र खोला किनारमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।