Join our Channel

प्रतिनिधिसभामा आज निजामती विधेयक पारित हुँदै, संघीय संरचनाको कार्यान्वयनमा नयाँ मोड

प्रतिनिधिसभामा आज निजामती विधेयक पारित हुँदै, संघीय संरचनाको कार्यान्वयनमा नयाँ मोड

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न गइरहेको छ। बैठकमा संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ।

नेपाल संघीय शासन प्रणालीमा गइसकेपनि प्रशासनिक संघीयता कार्यान्वयनमा देखिएको चुनौतीको समाधान स्वरूप यो विधेयक अघि सारिएको हो। यसअघि असार ३ गते नै यो विधेयक पारित गर्ने तयारी गरिएको थियो तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नुहुनेछ। त्यसपछि सांसदहरू आफ्नो धारणा राख्नेछन् र अन्ततः विधेयकलाई बहुमतले पारित गरिनेछ।

विधेयक पारित भएपछि राष्ट्रियसभामा पठाइनेछ। त्यहाँबाट पुनः प्रतिनिधिसभामा फर्किएपछि सभामुखले प्रमाणित गर्नेछन् र त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र विधेयक कार्यान्वयनमा आउनेछ।

यसैबीच, राष्ट्रियसभाको बैठक पनि आजै अपराह्न १२:१५ बजे बस्नेछ। सम्भावित कार्यसूचीअनुसार, विनियोजन विधेयक, २०८२ अन्तर्गत १४ वटा मन्त्रालयहरूको शीर्षकमाथि समुहीकृत छलफल गरिनेछ।

Leave a comment