Join our Channel

असार १५ मा दही चिउरा किन खाने? जान्नुहोस् रोचक सांस्कृतिक र स्वास्थ्य कारण

असार १५ मा दही चिउरा किन खाने? जान्नुहोस् रोचक सांस्कृतिक र स्वास्थ्य कारण

आज असार १५। नेपाली समाजमा परम्परागत रूपमा यो दिन दही र चिउरा खाएर रोपाइँ सकिएको खुशीयाली मनाउने चलन रहिआएको छ। यस दिनलाई सरकारले “राष्ट्रिय धान दिवस”को रूपमा पनि मनाउने गर्छ।

असारको चटारोबीच खेतमा खटिएका किसानहरूलाई सशक्त बनाउने र थकान हटाउने उपायको रूपमा दही चिउरा खाने परम्परा बस्दै आएको हो। संस्कृतिकर्मीहरूका अनुसार रोपाइँ समयमै सकिँदा गरिने भोजस्वरुप यो खानाको परम्परा परापूर्वकालदेखि चल्दै आएको हो।

सस्तो, सजिलो र पौष्टिक

पहिलेका समयमा प्रायः किसानहरूसँग माछा–मासु वा विशेष आहार पकाउने समय र सामर्थ्य हुँदैनथ्यो। घरमै पाइने गाई–भैंसीको दूधबाट बनाइएको दही र घरको चिउरा सजिलै उपलब्ध हुन्थ्यो। यसले सजिलो, सस्तो र पौष्टिक भोजनको रूपमा लोकप्रियता पाएको हो।

स्वास्थ्यका लागि पनि लाभदायक

दही चिउराले शरीरमा शीतलता दिनुका साथै पाचन शक्ति पनि बढाउने आयुर्वेदिक मान्यता छ। पखाला, पेट गडबडीजस्ता समस्यामा दही चिउरा औषधिको काम गर्छ। आयुर्वेदमा “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्” भन्ने भनाइले दहीको औषधीय महत्व स्पष्ट पार्दछ।

शुभसाइत र धार्मिक पक्ष

नेपाली संस्कृतिमा शुभकामना स्वरूप यात्रा, विदेश वा नयाँ काममा निस्कनु अघि दही अक्षता टीका लगाउने परम्परा छ। दही शुभताको प्रतीक हो। पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथले दही खुवाई वीर योद्धा बन्ने आशीर्वाद दिएको जनविश्वास समेत पाइन्छ।

राष्ट्रिय धान दिवसको रूपमा

वि.सं. २०६२ सालदेखि असार १५ लाई “राष्ट्रिय धान दिवस”को रूपमा मनाउन थालिएको हो। कृषि प्रधान नेपालमा यो समय रोपाइँको चटारोको समय हो। असारे भाकामा लोकगीत गाउँदै खेतमा रमाइलो गर्ने र सामूहिक रूपमा खेतमा पस्ने परम्परा अझै जीवित छ।

Leave a comment