
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीप्रति अपमानजनक भाषा प्रयोग गरेपछि इरानले तीव्र प्रतिक्रिया जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पलाई यस्ता शब्दहरू प्रयोग नगर्न चेतावनी दिएका छन्।
विदेशमन्त्री अराघचीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “खामेनीविरुद्धको अपमानले उहाँ मात्र होइन, उहाँका लाखौं समर्थकको भावनामा चोट पुर्याएको छ। यदि ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न चाहन्छन् भने आफ्नो भाषा व्यवहार सुधार्नुपर्छ।”
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत खामेनीलाई ‘भयानक मृत्यु’ बाट आफूले जोगाएको दाबी गरेका थिए। उनले लेखेका छन्, “खामेनीको ठेगाना मलाई थाहा थियो तर मैले इजरायल र अमेरिकी सेनालाई उनलाई मार्नबाट रोकेँ।”
इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि च्यानल १३ सँगको अन्तर्वार्तामा भनेका छन्, “यदि खामेनी हाम्रो पहुँचमा हुन्थे भने हामीले उनलाई समाप्त गरिसकेका हुन्थ्यौं।”
अराघचीले इजरायलमाथि कटाक्ष गर्दै भने, “जब इरानी क्षेप्यास्त्र खस्छन्, इजरायल डरले ‘बुबाकहाँ भाग्न’ बाध्य हुन्छ।” उनले ट्रम्प र नेटो प्रमुख मार्क रुटबीचको विवादको पनि स्मरण गराए जहाँ रुटले ट्रम्पलाई ठट्टामै ‘बुबा’ भनेका थिए।
ट्रम्प र इरानबीचको तनाव फेरि बढेको देखिन्छ। यो विवादले क्षेत्रीय स्थायित्वमा असर पर्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढेको छ।