Join our Channel

काठमाडौंमै लुकेर बसे नापी टोली प्रमुख सञ्जय साह, पक्राउ अझै हुन सकेन

काठमाडौंमै लुकेर बसे नापी टोली प्रमुख सञ्जय साह, पक्राउ अझै हुन सकेन

अदालतबाट महिनौँअघि पक्राउ पुर्जी जारी भएपनि नापी कार्यालय डिल्लीबजारअन्तर्गत टोखा टोलीका प्रमुख सञ्जय साह अझै पक्राउ परेका छैनन्।

रौतहट जिल्ला अदालत गौरले ठगी मुद्दामा साहसहित चार जनाविरुद्ध जेठ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो। साह हाल काठमाडौंमै लुकेर बसेको प्रहरी स्रोतको भनाइ छ। तर, प्रहरीले उनलाई अझै पक्राउ गर्न सकेको छैन।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले साहको पक्राउ पुर्जी जिल्ला प्रहरी परिसर काठमाडौं पठाएपनि कारवाही अघि बढ्न सकेको छैन। ठगी आरोपमा पक्राउ पुर्जी जारी भएका अन्य अभियुक्तमा दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरूण साह, काठमाडौं नागार्जुन नगरपालिका–४ की विमलादेवी श्रेष्ठ र उनका छोरा धीरज श्रेष्ठ रहेका छन्।

रौतहटको गरुडा नगरपालिका–६ का सन्तोषकुमार चौधरीले ठगी गरेको आरोपमा उनीहरूमाथि उजुरी दिएका थिए। उनीहरूको चिनजान २०७८ सालमा रौतहट चन्द्रपुरस्थित नापी कार्यालयमा साह प्रमुख हुँदा भएको थियो।

चौधरीका अनुसार काठमाडौंको नागार्जुन–४ निवासी श्रेष्ठ परिवारको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कट्ठा १४ धुर जग्गा संयुक्त लगानीमा किन्न सहमति भएको थियो। चौधरीले १ करोड १० लाख रुपैयाँ बैना रकम बुझाएका थिए। बाँकी रकम अभाव भएपछि साहले बाँकी लगानी गरेर जग्गा आफ्नो नाममा पास गराएका थिए। उक्त जग्गा २ करोड रुपैयाँ मूल्यमा किनबेच भएको थियो।

तर, साहले चौधरीलाई जानकारी नदिई सो जग्गालाई चार भागमा विभाजन गरेर विभिन्न चार जनालाई बेचेको आरोप लागेको छ। यसपछि ठगीको जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

जग्गा मालिक विमलादेवी श्रेष्ठको मृत्यु भइसकेकाले उनका छोरा धीरज श्रेष्ठलाई प्रहरीले पक्राउ गरी धरौटीमा छाडेको छ। साह भने पक्राउ पुर्जी जारी भएपछि असार १६ सम्म बिदा लिएर घरमै बसेका थिए। बिदा सकिएपछि उनी कार्यालय समेत नगएको र प्रहरी टोलीले साहलाई पक्राउ गर्न निगरानी बढाएको प्रहरी स्रोतको भनाइ छ।

Leave a comment