Join our Channel

किसानलाई अनुदानमा हाते ट्र्याक्टर, उत्पादन वृद्धि गर्ने पहल

किसानलाई अनुदानमा हाते ट्र्याक्टर, उत्पादन वृद्धि गर्ने पहल

गोरखा नगरपालिका–८ ले कृषकहरूलाई प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउन अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ।
वडाध्यक्ष ऋषिराम खत्रीका अनुसार वडाभित्रका १६ जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो।

उनका अनुसार, “कृषिमा आश्रित विपन्न, युवा र महिला किसानलाई प्राथमिकता दिई हाते ट्र्याक्टर वितरण गरिएको हो।”
वडाले प्रत्येक किसानलाई २०/२० हजार रुपैयाँ बराबरको अनुदानमा हाते ट्र्याक्टर दिएको छ।

वडाध्यक्ष खत्री भन्छन्, “अहिलेसम्म तीन वर्षमा कुल ८४ किसानलाई हाते ट्र्याक्टर वितरण भइसकेको छ।”
उनका अनुसार, वितरण गरिएका ट्र्याक्टरहरू ६ हर्सपावर क्षमताका छन्।

यो कार्यक्रम चालु आर्थिक वर्ष २०८१/८२ मा कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो।
नगरप्रमुख कृष्णबहादुर रानामगरका अनुसार, गोरु पाल्ने किसानहरू घट्दै गएकाले खेतबारी बाँझो नरहोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो।

उनले भने, “अघिल्लो पटक अनुदान नपाएका किसानलाई मात्र प्राथमिकतामा राखेर छनोट गरिएको छ।”
नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायिक र उत्पादनमुखी बनाउन कृषि औजार अनुदान कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनले जानकारी दिए।

Leave a comment