
आकर्षक तलबको प्रलोभन देखाउँदै लक्जेम्बर्ग पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ घर भई हाल ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ मा बसोबास गर्ने ४० वर्षीय भुप नारायण चौधरी रहेका छन्।
चौधरीले लक्जेम्बर्गमा रोजगारी दिलाइदिन्छु भन्दै दुई जना पीडितबाट १२ लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि उनी सम्पर्कबिहीन भएका थिए।
पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो।
हाल उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।