
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी क्रान्तिका बेला युवाहरू र संगीतले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे।
पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा उनले भूमिगत रूपमा क्रान्तिको तयारी गर्दा गीत, संगीत र सांस्कृतिक अभियानले जनतालाई प्रेरित गरेको बताए।
उनले भने, “भाषण र सिद्धान्तले मात्र होइन, गीत र संगीतले जनतालाई निकै उत्साहित बनायो। अहिले पनि युवाहरू र संगीत नै परिवर्तनको मूल आधार बन्नेछन्।”
प्रचण्डले आगामी निर्वाचनमा पनि संगीत र सांस्कृतिक कार्यक्रमहरूले महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे।