
आज आषाढ शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशीको दिन सनातन धर्मावलम्बीहरुले घरघरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत सुरु गरेका छन्।
यो दिनबाट चार महिनासम्म भगवान् विष्णुले क्षीरसागरमा शयन गर्ने मान्यता छ। त्यसैले आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको मोठमा पूजा, आराधना र व्रत गरिन्छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यो समयलाई ‘चतुर्मास’ भनिन्छ, जसमा भगवान् विष्णु निद्रामा रहनुहुन्छ।
सनातन परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ। यस दिन, एक महिनाअघि राखिएको बिरुवा आज तुलसीको मोठमा सारेर चार महिना विशेष पूजा सुरु गरिन्छ।
सक्ने भक्तजनले वर्षभर २४ वटै एकादशीमा व्रत बस्ने गर्छन् भने नसक्नेले चतुर्मासका ८ वटा एकादशीमा व्रत गर्छन्। अझ व्यस्त हुनेहरुले आजको हरिशयनी एकादशी र कार्तिकको हरिबोधिनी एकादशीमा मात्र व्रत बस्ने परम्परा छ।
आज राजधानीसहित देशभरका नारायण, विष्णु मन्दिरहरूमा विशेष भीड देखिएको छ। भक्तजनले बिहानैदेखि व्रत बसेर रोटी, ढिँडो जस्ता फलाहार गरिरहेका छन्।
तुलसीको धार्मिक महत्वसँगै यसको वैज्ञानिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। तुलसी अक्सिजन उत्पादन गर्ने बिरुवा हो र यसको वरिपरि शुद्ध हावा बहन्छ। रोग सार्ने कीटाणु भगाउने गुण भएका कारण तुलसीलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीमा दामोदर (भगवान् विष्णु) सँग विवाह गरिन्छ। यस दिन हवन गरेर चतुर्मास व्रतको समापन गरिन्छ।