Join our Channel

कोदारी राजमार्ग खुलेपछि भन्सार नाकामा रोकिएका कन्टेनर प्रवेश

कोदारी राजमार्ग खुलेपछि भन्सार नाकामा रोकिएका कन्टेनर प्रवेश

लगातारको वर्षाका कारण अवरुद्ध बनेको कोदारी राजमार्ग शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।

जिल्लाको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रमा सडक भासिएपछि ठप्प बनेको राजमार्ग मर्मतपछि सञ्चालनमा आएको हो।

चीनसँग जोड्ने २६ किलोमिटर लामो कोदारी राजमार्ग आइतबार सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो। त्यसपछि चीनबाट सामान बोकेर नेपालतर्फ आइरहेका दर्जनौँ कन्टेनर लिपिङमा रोकिएका थिए।

चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले शनिबार बिहान ५ बज्नुअगाडि नै सडक सञ्चालनमा आएको जानकारी दिए। ‘नाका नियमित रूपमा सञ्चालनमा आएको छ,’ श्रेष्ठले भने।

राजमार्ग खुलेसँगै रोकिएका कन्टेनर भन्सार नाका लार्चातर्फ गएका छन्। सडकमा पहिरो हटाउने काम निरन्तर गरिँदै आएको र मर्मतपछि सडक पूर्ण रूपमा खुलाइएको श्रेष्ठको भनाइ छ।

यसअघि खकुण्डोल, कोप्लाङ लगायतका क्षेत्रमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको थियो। त्यस क्रममा दुईवटा एक्स्काभेटर प्रयोग गरिएको थियो।

कोप्लाङ क्षेत्रमा झण्डै १५ फिट सडक भासिएपछि नाका बन्द भएको थियो। हाल लार्चामा बेलिब्रिज जोडिएको छ।

यो वर्षको बर्खायाममा यो तेस्रो पटक कोदारी नाका पूर्ण रूपमा अवरुद्ध भएको हो।

तातोपानी नाका विगतदेखि नै बाढीपहिरो र प्राकृतिक प्रकोपले बारम्बार प्रभावित हुँदै आएको छ। यद्यपि, वैकल्पिक मार्गको अभावले यात्रु तथा व्यवसायीलाई बारम्बार कठिनाइ भइरहेको छ।

Leave a comment