
नेपाल महिला राष्ट्रिय फुटबल टोली एसिया कप फुटबल प्रतियोगिताको छनोटबाट बाहिरिएको छ। शनिबार उज्वेकिस्तानमा भएको खेलमा आयोजक टिमसँग पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले पराजित भएको हो।
खेलको निर्धारित ९० मिनेटमा दुवै टिमले ३–३ गोल गर्दै बराबरी खेलेका थिए। यससँगै दुवै टिमको ७–७ अंक भएपछि पेनाल्टी सुटआउटमार्फत नतिजा टुंग्याइएको थियो।
पहिलो हाफमा नेपाल ३–१ ले पछि परेको थियो। तर दोस्रो हाफमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै खेल बराबरीमा ल्यायो।
नेपालका तीनै गोल कप्तान सावित्रा भण्डारीले गरिन्। उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन्।
पेनाल्टी सुटआउटमा सावित्राको पहिलो प्रहार गोलपोस्टमा लागेर बाहिरियो भने चौथो प्रहारमा अञ्जना रानामगरको प्रहार उज्वेक गोलकिपरले बचाइन्।
उज्वेकिस्तानका चारै पेनाल्टी सफल रहे। नेपालबाट गीता राना र सविता रानामगरले मात्रै गोल गर्न सके।
यो हारसँगै नेपालले अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसिया कपमा खेल्ने सपना गुमाएको छ।