Join our Channel

आज यी ४ प्रदेशमा भारी वर्षा हुने चेतावनी, सतर्कता अपनाउन आग्रह

आज यी ४ प्रदेशमा भारी वर्षा हुने चेतावनी, सतर्कता अपनाउन आग्रह

आज देशका चार प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक–दुई स्थानमा भारी वर्षा हुने प्रबल सम्भावना रहेको विभागको पूर्वानुमान छ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ केही उत्तरतिर रहेको मौसमविद्हरूले बताएका छन् ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र विशेष गरी कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको उल्लेख छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा केही क्षेत्रमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा भने हिमपातको जोखिम समेत देखिएको छ ।

महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएको छ । सहरी तथा तराई क्षेत्रका बासिन्दालाई डुबानको सम्भावनाबारे सचेत रहन आग्रह गरिएको छ ।

यसका साथै साना तथा ठूला नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण र सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ ।

Leave a comment