Join our Channel

भोटेकोशीमा भीषण बाढी: हिमताल विस्फोटबाट आएको पुष्टि, वैज्ञानिकको चेतावनी

भोटेकोशीमा भीषण बाढी: हिमताल विस्फोटबाट आएको पुष्टि, वैज्ञानिकको चेतावनी

रसुवाको भोटेकोशीमा गएको भीषण बाढी हिमताल विस्फोटकै कारण आएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चीन–नेपाल सीमास्थित ल्हेन्दे खोलामा रहेको सुप्राग्लेशियल हिमताल (हिमनदीमाथिको ताल) फुटेर बाढी आएको हो ।

‘सेन्टिनेल’ उपग्रहबाट गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको विभागका बाढीविद् विनोद पराजुलीले बताए ।
उनका अनुसार, रसुवागढी नजिकको नेपाल–चीन सीमाबाट झन्डै ३६ किलोमिटर माथि, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइमा रहेको उक्त तालको क्षेत्रफल बाढी अघि करिब ०.७५ वर्ग किलोमिटर थियो । बाढीपछिको तस्बिरमा तालको क्षेत्रफल ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ ।

यसबाट पानीको ठूलो मात्रा निस्किएको र त्यसकै कारण तलतिर ठूलो बाढी आएको देखिन्छ ।
पराजुलीका अनुसार चीनबाट थप स्थलगत अध्ययन प्रतिवेदन आउने अपेक्षा गरिएको छ भने आगामी दिनमा उपग्रहबाट थप तस्बिर आएपछि अझै विस्तृत निष्कर्ष निकालिनेछ ।

इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) का वैज्ञानिकहरूले पनि ल्हेन्दे खोलामा बनेको हिमताल विस्फोट भएर बाढी आएको पुष्टि गरेका छन् ।
उनीहरूका अनुसार बाढीअघि र बाढीपछिको तस्बिरमा हिमतालको आकारमा ठूलो अन्तर देखिएको छ, जसबाट पानी बाहिरिएर बाढी आएको स्पष्ट हुन्छ ।

यसले भविष्यमा हिमनदीमाथि बनेका यस्ता तालहरूको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले अझै अनुसन्धान जारी राख्ने जनाएको छ ।

Leave a comment