
साउन १ गतेदेखि अर्को आदेश नभएसम्म पाल्पा जिल्लामा चुनढुंगा उत्खनन र ओसारपसार रोकिएको छ। डिभिजन वन कार्यालय पाल्पाले जारी गरेको सूचनाअनुसार, मनसुनको समयमा सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधारमा क्षति हुन सक्ने भएकाले यो निर्णय गरिएको हो।
डिभिजन वन प्रमुख नारायणदेव भट्टराईका अनुसार, खानी उद्योगहरूले मनसुनको समयमा खानी उत्खनन र ओसारपसारमा रोक लगाउनुपर्ने व्यवस्था भए पनि लगातार उत्खनन हुँदै आएकाले रोक्नैपर्ने अवस्था आएको हो।
उनका अनुसार, वर्षात्का कारण भारी सवारी साधन सञ्चालन हुँदा सडकहरूमा क्षति बढेको छ। त्यसैले वर्षा सकिएपछि मात्र खानी उत्खनन र ओसारपसार खुला गरिने छ।
खानी उद्योगले अटेरी गरेपछि कडा निर्देशन
सर्वोत्तम सिमेन्ट, सिजी सिमेन्ट, कञ्चन क्वेरिज लगायतका खानी उद्योगहरूले अझै उत्खनन र ओसारपसार गर्दै आएकाले वन कार्यालयले सबै स्थानीय तहमा निर्देशन पठाइसकेको छ।
विगतमा असार १ गतेदेखि खानी उत्खनन बन्द गरिँदै आएको भए पनि पछिल्लो समय निर्वाध रूपमा टिपर र ट्रयाक्टर चलाइएको थियो। स्थानीय तहले अधिकार प्रयोग नगर्दा यस्ता गतिविधि बढेका हुन्।
सडकहरू ध्वस्त, स्थानीय आक्रोशित
स्थानीय बासिन्दा चन्द्रबहादुर खत्रीका अनुसार, मुख्य सडकहरू भारी सवारीका कारण बिग्रिएका छन्। ‘१० टन क्षमताको टिपरले २० देखि ३५ टनसम्म बोक्दा सडक ध्वस्त भएकै हो,’ उनले भने।
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा पुल, कल्भर्ट र नालीहरू पनि बिग्रिएका छन्। केही स्थानमा त सडक नै भासिएको छ।
के–के खानी उद्योग छन् पाल्पामा?
पाल्पामा तिनाउ डोलोमाइट, अल्फा सिमेन्ट, सिद्धार्थ मिनिरल्स, सर्वोत्तम सिमेन्ट, कञ्चन क्वेरिज, सत्यवती चुनढुंगा, पाल्पा सिमेन्ट, बीएस सिमेन्ट, होङ्सी सिमेन्ट र सिजी सिमेन्ट लगायतका खानी उद्योगले उत्खनन गर्दै आएका छन्।
धेरै उद्योगले तौल जाँच (धर्मकाँटा) नराखेको ट्राफिक प्रहरीको भनाइ छ। जसका कारण अत्यधिक भार बोकेर ओसारपसार गर्ने क्रम अझै घट्न सकेको छैन।