
सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–१०, छिन्चुबाट पाँच किलो ४५० ग्राम अफिमसहित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षीय जयबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले दिएको जानकारीअनुसार, अफिम कारोबारीको गतिविधिबारे गोप्य सूचना प्राप्त भएलगत्तै निगरानी बढाइएकाे थियो । सोही क्रममा प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
प्रारम्भिक बयानमा बस्नेतले आफैं अफिम उत्पादन र बिक्री वितरण गर्दै आएको स्विकारेको प्रहरीको भनाइ छ । प्रहरीले प्रारम्भिक रूपमा बरामद अफिमको मूल्य ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको जनाएको छ ।
तर पक्राउ परेका बस्नेतले भारतसम्म पु-याउन सके यसको मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने दाबी गरेका छन् । अहिले फरार मुख्य गिरोहका सदस्यहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
अफिम ओसारपसारमा अन्तर्राष्ट्रिय गिरोह संलग्न हुन सक्ने आशंका प्रहरीको छ । थप अनुसन्धान भइरहेको छ ।