
उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उत्कृष्ट नतिजा सार्वजनिक गरेको छ। अदालतले एक वर्ष अवधिमा दर्ता भएका १,४५७ मुद्दामध्ये १,२४३ मुद्दा फर्छ्यौट गरेको जनाएको छ।
अदालतका सूचना अधिकारी मधुसूदन पन्थीका अनुसार हाल विचाराधीन मुद्दा २१४ मात्र छन्। तीमध्ये ४५ मुद्दा छ महिना नाघेका र १६९ मुद्दा छ महिनाभित्रका छन्। “एक वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट भएका छन्,” उनले जानकारी दिए।
यो उपलब्धि ८५.३१ प्रतिशत फर्छ्यौट दर भएको देखिन्छ, जुन चालु आवको लक्ष्यभन्दा ४२ प्रतिशत बढी हो। गत वर्ष अदालतले ८७१ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो।
पछिल्लो दशकको तथ्याङ्क हेर्दा यो वर्ष अदालतमा सबैभन्दा धेरै मुद्दा दर्ता र फर्छ्यौट दुवै भएको उल्लेख गरिएको छ।
विगत वर्षहरूको तुलनात्मक फर्छ्यौट दर:
- २०७२/७३: ५९.५३%
- २०७३/७४: ५९.५०%
- २०७४/७५: ६७.६७%
- २०७५/७६: ७५.६५%
- २०७६/७७: ७०.१७%
- २०७७/७८: ६६.३६%
- २०७८/७९: ६०.८२%
- २०७९/८०: ५०.६६%
- २०८०/८१: ७२.३८%
- २०८१/८२: ८५.३१% (हालसम्मकै उच्च)
उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीका अनुसार, मुद्दा व्यवस्थापनका लागि छ महिना, एक वर्ष र १८ महिनाभित्र फर्छ्यौट गर्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिअनुसार कार्यान्वयन भएको हो। “यसले गर्दा अब एक वर्षभन्दा पुराना मुद्दा शून्यमा झरेका छन्,” उनले बताए।