
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि ३२ लाख रुपैयाँ घूस बुझेको आरोपसहितको अडियो सार्वजनिक भएको छ। पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गराउने नाममा उक्त रकम लिएको दाबी अडियोमा गरिएको छ।
सार्वजनिक अडियो अनुसार, एमालेका स्थानीय नेता तथा बिचौलिया सुजन लामामार्फत मन्त्री अधिकारीले मन्त्री क्वार्टरमै रकम बुझेको भनिएको छ। अडियोमा भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्रीका छोरा मनोज अधिकारीलगायतको संलग्नताको पनि उल्लेख छ।
बिचौलिया लामाले अडियोमा बताएका अनुसार, डेढ करोड रुपैयाँ घूस मन्त्री, सचिव र अन्यको भ्रमण व्यवस्थापन, सेटिङ र सरुवाको नाममा खर्च गरिएको थियो। मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीमार्फत जेब्रा झोलामा ३२ लाख रुपैयाँ मन्त्रीलाई बुझाइएको दाबी अडियोमा गरिएको छ।
मनोज अधिकारी हाल नेपालमै रहेको र घूस ‘सेटिङ’मा संलग्न भएको आरोप अडियोमा लगाइएको छ। अडियोअनुसार रामचन्द्र अधिकारीलाई प्रभावमा पारेर कास्कीबाट लमजुङ सरुवा गरिएको भनिएको छ।
त्यस्तै, स्थानीय नेता खेम पुनलाई भूमि समस्या समाधान आयोगको अध्यक्ष बनाउन बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग सिफारिस गरेका थिए। गुप्ताले भने पहिले नै पैसा लिइसकेकाले पुनलाई नियुक्त गर्न नसकिने बताएका छन्।
यस अडियो सार्वजनिक भएपछि राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा गरिसकेका छन्। तर भूमि मन्त्री बलराम अधिकारीमाथि हालसम्म छानबिन सुरु भएको छैन। उनले प्रतिनिधिसभामा आफ्नो संलग्नता अस्वीकार गर्दै भनेका थिए, “जुन औंलामा विष लाग्छ, त्यही औंलो झर्छ।“