Join our Channel

नेपालको मुख्य दुस्मन अब राजतन्त्र होइन : अध्यक्ष प्रचण्ड

नेपालको मुख्य दुस्मन अब राजतन्त्र होइन : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अहिलेको मुख्य दुस्मन राजतन्त्र नभएको स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले भने, “नेपालमा सामन्ती निरङ्कुशतन्त्र र राजतन्त्र अहिलेको मुख्य चुनौती होइन। ती यदाकदा उठ्न खोजे पनि अब उठ्नेवाला छैन।”

उनका अनुसार अहिलेको मुख्य समस्या भनेको दलाल पुँजीवादी समूह, बिचौलिया र केही मुठ्ठीभर शक्तिकेन्द्र हुन्, जसले नेपालको अर्थतन्त्र र राजनीतिको नियन्त्रण लिएका छन्।

“नोकरशाही पुँजीवाद नै समृद्धिको बाधक”

अध्यक्ष दाहालले समृद्धिको यात्रामा ‘नोकरशाही पुँजीवाद’ मुख्य बाधक बनेको बताए। उनले अदालत, प्रशासन, र सम्पूर्ण राज्य संयन्त्रमा व्याप्त भ्रष्टाचार र विकृतिको गम्भीर आलोचना गरे।

“संघीय निजामती विधेयकमाथि भइरहेको चलखेल र छेडखानीले सम्पूर्ण सांसदहरू अपमानित भएका छन्। राज्यका सबै निकायमा विकृति छ,” उनले बताए।

सबै एक भएर भ्रष्टाचारविरुद्ध लड्नुपर्ने दाहालको आह्वान

दाहालले अबको मुख्य आवश्यकता भ्रष्टाचार, दलाल पुँजीवाद र नोकरशाही पुँजीवादविरुद्ध सबै एकजुट हुनु रहेको बताएका छन्।

उनले भने, “हामी सबैले अब संकल्प गर्नुपर्छ – भ्रष्टाचार र दलाल पुँजीवादका विरुद्ध लड्न। त्यसविना देशको समृद्धि सम्भव छैन।”

Leave a comment