Join our Channel

चितवनमा ६ घण्टा लोडसेडिङ, चनौली सवस्टेसनले सार्वजनिक गर्‍यो तालिका

चितवनमा ६ घण्टा लोडसेडिङ, चनौली सवस्टेसनले सार्वजनिक गर्‍यो तालिका

नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले आइतबारदेखि दिनमै ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ। गर्मी र सिँचाइका कारण माग अत्यधिक बढेपछि यस्तो निर्णय गरिएको हो।

वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान ३ घण्टा र दिउँसोदेखि साँझसम्म थप ३ घण्टा विद्युत् आपूर्ति रोकिनेछ। “यसलाई लोडसेडिङ नै भन्न मिल्दैन, सिंचाइका लागि मोटर चलाउँदा भार बढेकाले फिडरअनुसार कटौती गरिएको हो,” श्रेष्ठले जानकारी दिए।

चनौली सवस्टेसनबाट पश्चिम चितवन र माडी क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। चनौली वितरण केन्द्रअन्तर्गत ८ वटा फिडर रहेका छन् र ती फिडरअनुसार विद्युत् कटौतीको तालिका सार्वजनिक गरिएको छ।

भरतपुरबाट चनौलीतर्फ आउने ३३ केभी लाइनको कन्डक्टरमा अधिकतम ३०० एमपीएर भार मात्रै प्रवाह गर्न मिल्ने भए तापनि हाल माग ४५० एमपीएरसम्म पुगेकाले समस्या देखिएको श्रेष्ठको भनाइ छ।

उक्त समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न बसेनी सवस्टेसनबाट वैकल्पिक लाइन ल्याउने काम गत वर्षदेखि निर्माणाधीन रहेको पनि उनले बताए। अत्यधिक गर्मी, सिँचाइ र डिप बोरिङ मोटर चलाउने क्रम बढेपछि भार असहज भएको जनाइएको छ। श्रेष्ठले यो समस्या केही दिनमै सुधार हुने अपेक्षा व्यक्त गरे।

Leave a comment