
चितवन प्रहरीले एक भारतीय ट्रकबाट ६७१ किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार भारतको नम्बर प्लेट (यूपी ८२ टी ३९२१) भएको ट्रक राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट शनिबार बिहान ४ बजे नियन्त्रणमा लिएको हो।
फल्स बटनमा लुकाइएको गाँजा
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार उक्त ट्रक काठमाडौंमा सामान पुर्याएर वीरगञ्ज फर्किंदै थियो। ट्रकको चालक क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाई ४३ वटा पोका बनाइएको गाँजा फेला परेको जनाइएको छ।
गाँजा ओसारपसारमा प्रयोग गरिएको उक्त ट्रक भारतको पूर्वी चम्पारण, तुर्कालियाका ३७ वर्षीय शेख सविल अख्तरले चलाएका थिए। उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धान जारी
प्रहरीका अनुसार बरामद गाँजा कहाँबाट ल्याइएको हो र कसको निर्देशनमा तस्करी गरिएको थियो भन्नेबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयले लागूपदार्थ तस्करीविरुद्धको अभियान अझै कडाईका साथ अघि बढाउने जनाएको छ।