
अबदेखि कुनै पनि कम्पनीको संस्थापक सेयर स्वतः सर्वसाधारण सेयरमा परिणत हुने छैन। केन्द्रीय निक्षेप प्रणाली (CDSC) ले तयार पारेको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ अनुसार अब संस्थापक र सर्वसाधारण सेयर फरक–फरक आइजिन (ISIN) नम्बरमा दर्ता गरिनेछ।
यो नयाँ निर्देशिका अनुसार, अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीजस्तै अन्य सबै क्षेत्रका कम्पनीले पनि आफ्ना सेयरलाई संस्थापक र सर्वसाधारण भनेर छुट्याएर दर्ता गर्नुपर्नेछ। यसले सेयर बजारमा देखिँदै आएका अनियमितता रोक्न सहयोग पुर्याउने बताइएको छ।
हालसम्म एकै आइजिनमा संस्थापक र सर्वसाधारण सेयर राखिँदा तीन वर्षको लक–इन अवधि नसकिँदै सेयर किनबेच हुने घटनाहरू देखिएका थिए। यही कारण CDSC र नेपाल धितोपत्र बोर्डले दुईवटा आइजिन अनिवार्य गराउने नीति ल्याएको हो।
तर स्वतन्त्र ऊर्जा उत्पादक संस्था (IPPAN) लगायतका संस्थापक सेयरधनीहरूले भने यस निर्णयको विरोध गरेका छन्। उनीहरूले यो निर्णयले विशेष गरी जलविद्युत् क्षेत्रमा नकारात्मक असर पार्ने र सरकारको २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमै प्रश्न उठ्ने बताएका छन्।
नेपाल सेयर बजार लगानीकर्ता संघ भने CDSC को प्रस्तावित निर्देशनाले सेयर बजारमा पारदर्शिता र विश्वसनीयता बढाउने बताउँछ। संघका अध्यक्ष केशवप्रसाद श्रेष्ठका अनुसार, छुट्टाछुट्टै आइजिन नहुँदा संस्थापक सेयरधनीहरूले अनधिकृत रूपमा कारोबार गर्ने अवसर पाइरहेका थिए।
अब निर्देशिका लागू भएपछिको प्रमुख व्यवस्था:
- संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत हुँदैन।
- लक–इन अवधि सकिएपछि मात्रै नियामक निकायको अनुमति लिएर संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सकिनेछ।
- सबै कम्पनीले फरक आइजिनमा सेयर दर्ता गर्नुपर्नेछ।
- सेयर कारोबार प्रणाली थप व्यवस्थित हुनेछ।
CDSC का अनुसार, यो निर्देशिका कार्यान्वयनमा आएपछि करिब ८७ अर्ब रुपैयाँ बराबरको सेयर प्रभावित हुनेछ। धितोपत्र बोर्डले यसलाई स्वीकृति दिने प्रक्रिया सुरु गरिसकेको छ।