Join our Channel

नेपालमा सुरु ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम, १ हजार ७२ विद्यालयमा सञ्चालन, ३२ हजार भन्दा बढी बल वितरण

नेपालमा सुरु ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम, १ हजार ७२ विद्यालयमा सञ्चालन, ३२ हजार भन्दा बढी बल वितरण

४ देखि १४ वर्षका बालबालिकालाई लक्षित गरेर सुरु गरिएको विश्वव्यापी ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम अब नेपालमा पनि सुरु भएको छ।

दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरे। उनले काठमाडौंस्थित कौस्तुभ एकेडेमीका शिक्षक र विद्यार्थीलाई बल हस्तान्तरण गर्दै अभियान सुरु भएको घोषणा गरे।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यो कार्यक्रम देशका ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयमा सञ्चालन हुनेछ। साथै ३२ हजार ६४० वटा फुटबल बल वितरण गरिनेछ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पहलमा सुरु गरिएको यो कार्यक्रम सन् २०१९ मा लेबननबाट प्रारम्भ भई हाल १३९ राष्ट्रहरूमा क्रियाशील छ। यसले करिब ७० करोड बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

नेपालमा भने यो अभियान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालययुवा तथा खेलकुद मन्त्रालयसँग सहकार्यमा सञ्चालन गरिँदैछ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बालबालिकालाई भविष्यमा ५० हजार दर्शक क्षमताको रंगशालामा खेल्न पाउने वातावरण निर्माण गरिने उद्घोष गरे। उनले भक्तपुरको सूर्यविनायकमा नयाँ स्तरीय रंगशाला निर्माण गर्ने सरकारको योजनाबारे पनि जानकारी दिए।

कार्यक्रमको प्रारम्भ फिफा फुटबल फर स्कुल्स म्यानेजर एन्टोनियो ब्युनानो सान्चेजप्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीको प्रत्यक्ष निगरानीमा गरिएको हो।

Leave a comment